नवलपुरमा पहिरोले बस भिरबाट खस्दा एक जनाको मृत्यु, ६ जना घाइते

   ९ आश्विन २०७७, शुक्रबार १२:३९  

९ असोज, रौतहट । नवलपुरको दाउन्नेमा पहिरोले गर्दा बस भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भिरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका–१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो ।

बस भिरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नंको बस माथिबाट खसेको पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो । पहिरोेका कारण बस खस्दा अन्य छ जना घाइते भएका छन् । घाइते सबैको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ । बसमा १८ जना सवार थिए ।