अविरल वर्षाले रौतहटमा डुबान र सडक कटान

   ९ आश्विन २०७७, शुक्रबार ११:४५  

 

९ असोज, रौतहट । केही दिन देखी भएको अविरल वर्षाका कारण रौतहटका विभिन्न स्थानीय तहमा डुबान तथा कटानको समस्या उत्पन्न भएको छ ।

वर्षाका कारण रौतहटको गरुडा नगरपालिका १ जयनगरमा पुलसँग जोडिएको सडक कटानमा परेको छ । अत्याधिक वर्षाका कारण झाँझ खोलामा आएको बाढीले जयनगरमा रहेको झाँझ नदीको पुलको पश्चीम तर्फ रहेको सडक कटान गरेको छ । सो पुलसँग जोडिएको सडकको अधिकांश भाग कटान भएको वडा अध्यक्ष सरोज यादवले बताएका छन । बाटो कटानका कारण माधवपुर, सिंगारमन, धर्मपुर विसुनपूर्वा मानपुर र जयनगरका स्थानियको सडकसँगको सम्पर्क अवरुद्ध हुनेछ ।

बाढीले बाटो कटान गरिरहेको विषयमा सम्बन्धीत निकायहरुलाई जानकारी गराएको र वडा स्तरबाट सडक मरम्तका लागी तयारी भइरहेको वडा अध्यक्ष यादवले बताए ।

अविरल वर्षाका कारण रौतहटका दुई नदीहरु बाग्मती र लालबकैयाको जलस्तरमा वृद्धि भएको छ भने सदरमुकाम गौरका मुख्य सडकखण्डमा पानी जमेको छ । गौर भन्सार क्षेत्रमा सशस्त्र प्रहरीको गौर विओपी डुबानमा परेको छ ।