कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   ९ आश्विन २०७७, शुक्रबार १०:५९  

९ असोज, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बाँकेका एक जना र पर्साका एक जना गरी थप दुई जनाको मृत्यु भएको हो ।

बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुष श्वासप्रश्वासमा समस्या भएपछि असोज ६ गते राति ११ बजे कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएका थिए ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका अनुसार ६ गते नै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या थियो ।

यसैगरी पर्साको वीरगञ्जमा पनि उपचाररत एक ७७ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ ।

पर्साको पोखरिया नगरपालिका–१ का ७७ वर्षीय पुरुषको नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा उपचारको क्रममा बिहीबार राति साढे ८ बजे मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ४५ पुगेको छ ।

मुटु र मिर्गौलाको समस्याबाट पीडित ती पुरुषलाई असोज ७ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । नारायणीमा गरिएको पीसीआर परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएपछि नेशनल मेडिकल कलेज अस्थायी कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनले जानकारी दिए।