बझाङमा १२ वर्षीया बालिकाको बलात्कार गरेपछि, हत्या
८ असोज, रौतहट । बझाङमा एक १२ वर्षीया बालिकाको बलात्कार गरेपछि हत्या गरिएको छ ।
मष्टा गाउँपालिकाकी बालिकालाई बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । बालिकाको शरीरभरि निलडाम र नग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी रुपक खड्काले जानकारी दिए । ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ डीएसपी खड्काले भने ।
पशुचौपाया बाँध्न गएकी बालिका अबेरसम्म घर नआएपछि परिवारले खोजी गरेको थियो । परिवार र स्थानीयले नै बालिकाको खोजी गर्दै जाँदा घरदेखि २ किलोमिटर टाढा शव फेला परेको डीएसपी खड्काले जानकारी दिए । उनले भने, ‘आफन्तले नै प्रहरीलाई खबर गरेका हुन् ।’
बालिकाले कानमा लगाएका मुन्द्रा समेत लुटेर लगेको परिवारले दावी गरेको छ ।
‘घटनास्थलबाट बालिकाले लगाएको भनिएको मुन्द्रा भेटिएको छैन,’ डीएसपी खड्काले भने । मृतक बालिकाको शव पोस्टमार्टमको लागि चैनपुर लगिएको खड्काले बताए ।
घटनाबारे थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ । घटनामा हालसम्म कोही पनि पक्राउ परेका छैनन् ।