हुम्लाको टाकुलेमा भेटियो ११ नम्बर सीमा स्तम्भ
८ असोज, रौतहट । नेपाल-चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । हुम्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) चिरन्जीवी गिरीको नेतृत्वमा गएको नेपाली सेनासहितको टोलीले ११ नम्बर सीमा स्तम्भ फेला पारेको नाम्ख गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिएका छन् ।
चार दिनअघि सीडीओ नेतृत्वको टोली ११ नम्बर सीमास्तम्भको खोजीमा त्यसतर्फ गएको उनले बताए । उनले भने, “विभिन्न सञ्चारमाध्यमहरुमा सीमा स्तम्भ गायब भएको भन्ने समाचारहरु आए । तर, त्यो गायब गरिएको नभई हामीले खोजी नै नगरेका हौं । अहिले खोजी गर्दा भेटियो भन्ने खबर आएको छ ।”सीडीओ नेतृत्वको टोली त्यहाँबाट बिहीबार साँझसम्म सदरमुकाम आइ पुगेपछि विस्तृत जानकारी थाहा हुने अध्यक्ष लामाले बताए । उनले भने, “मलाई बताए अनुसार ११ नम्बर सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा भेटिएको छ । हिउँ र माटोले पुरिएको अवस्थामा स्तम्भ भेटिएको भन्नुभएको छ ।”
१२ नम्बर सीमा स्तम्भ वडा नम्बर ६ कै लिमीमा भएको र ११ नम्बर सीमा स्तम्भ पनि भेटिएपछि अब रेखाकंनका गर्ने र त्यसपछि चिनियाँ भवनहरु कता बनाएका हुन् भनेर यकिन गर्नसकिने अध्यक्ष लामाले बताए ।सन् २०१९ मा उक्त सीमा स्तम्भहरु निर्माण गरिएका थिए । यसअघि नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ खोज्न गएको नेपाली टोली लाप्चाबाटै फर्किएको थियो ।
विभिन्न सञ्चारमाध्यमहरुमा चीनले नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको भन्ने समाचारहरु आएपछि यो विषयमा ध्यानाकर्षण भएको हो । बुधबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारका निर्णय सार्वजनिक गर्दै नेपाल-चीनबीच कुनै सीमा समस्या नभएको दाबी गरेका थिए ।
ज्ञवालीले भनेका थिए, “लिमि उपत्यकामा नेपाली भूमिमा भवन निर्माण भएको भन्ने समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट स्थलगत अध्ययनका लागि टोली त्यसतर्फ गएको छ । उक्त टोलीले रिपोर्ट पठाएपछि विस्तृत जानकारी हुन्छ ।”
उनले चीनले नेपाली सीमाभन्दा एक किलोमिटर परै संरचना बनाएको समेत बताएका थिए । उनले भने, “हुम्ला लिमीमा देखिएको समस्या २०७३ सालमा गठन भएको अन्तर मन्त्रालय छानबिन समितिले नै प्रष्ट पारिसकेको र त्यतिबेला नै यो विषय किनारा लागेको छ । त्यतिबेला गठन भएको छानबिन समितिले लिमीमा चीनले बनाएका भवन नेपाल–चीन सीमा क्षेत्रभन्दा एक किलोमिटर पर नै रहेको प्रतिवेदन बुझाएको र अहिले पनि त्यहीँ भवन बनाइएको छ ।”