स्याङ्जामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ८ पुग्यो, २ जना अझै वेपत्ता

   ८ आश्विन २०७७, बिहीबार ११:५६  

८असोज, रौतहट । मंगलबार देखि अविरल वर्षासंगै स्याङ्जामा विभिन्न ठाउँमा पहिरो गएका कारणले ज्यान गुमाउनेको संख्या ८ पुगेको छ ।

पहिरोमा १० जनाको परिवार रहेको घर पुरिएको वालिङ १४ को तामादीमा थप चार जनाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए । यसअघि ३ जनाको शव फेला परेको पनि जनाए । वालिङमा मात्रै मर्नेको संख्या ७ पुगेको छ , भने एक जनाको जिवितै उद्धार गरेर थप उपचारका लागि पोखरा पठाइएको छ । तर, २ जना अझै वेपत्ता नै रहेका छन् ।

अहिले बेपत्ताहरुको खोजिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए । क्षेत्रीका अनुसार कालिगण्डकी ४ गौतम टोलका एक जनाको मृत्यु भएको छ ।

कालीगण्डकीमा राती २ बजे घरमाथिबाट पहिरो खसेर गौतम टोलका १८ वर्षीय कृष्ण नेपालीको मृत्यु भएको वडा अध्यक्ष चक्रपाणी पाण्डेले बताए। यहाँ राती भागदौड समेत भएको थियो। तर अस्पताल जानुपर्नेगरी कोही घाइते छैनन्। उनका अनुसार स्थानीयवासी र विर्घा प्रहरी चौकीका प्रहरीको पहलमा पहिरोमा पुरिएका कृष्ण नेपालीको शव निकालिएको हो।