कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु
७ असोज, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । बाँकेमा एक जना र मोरङमा एक जना गरी थप दुई जना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।
बाँकेको भेरी अस्पतालमा बर्दियाको बारबर्दिया नगरपालिका ३ बनियाभारका ३९ वर्षका पुरुषको उपचारको क्रममा बुधबार बिहान १०ः३० बजे मृत्यु भएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
मृतकको स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते दिउँसो भेरी अस्पतालमा भर्ना भएका थिए । सोही अस्पतामा पीसीआर परीक्षण गर्दा ३० गते उनमा कोरोना पुष्टि भएको थियो । भेरी अस्पताल भर्ना हुनुअघि ती पुरुषले कोरोना भएको आशंकामा २८ गते पीसीआर परीक्षण गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब दिएका थिए । प्रतिष्ठानमा उनको रिपोर्ट नेगेटिभ दिएको थियो ।
तर स्वास्थ्यमा समस्या भएपछि, उनी २९ गते भेरी अस्पताल भर्ना भए । भेरीले पुनः स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, विराट मेडिकल कलेजको आइसोलेसन कक्षमा उपचाररत भद्रपुर नगरपालिका –१० का ८६ वर्षीय वृद्धको बुधबार विहान मृत्यु भएको कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले जानकारी दिए ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पताल आएका वृद्धलाई सोमबार नै कोरोना पोजेटिभ आएको थियो । वृद्धलाई उपचारका लागि भर्ना गर्दा स्वासप्रश्वासमा समस्या देखिएको, ज्वरो आएको र जटिल खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ ।
उनको मिर्गौलामा पनि समस्या देखिएको थियो ।