वीरगञ्जमा रिएजेन्टको अभाव; एक जनाको मात्रै कोरोना परिक्षण
७ असोज, रौतहट । वीरगञ्जमा रिएजेन्ट किटको अभाव हुदाँ मंगलबार पीसीआर परीक्षण अवरुद्ध भएको छ । समयमै रिएजेन्ट किट काठमाडौँबाट नआइपुग्दा परीक्षण अवरुद्ध भएको हो ।
हिजो परीक्षण अवरुद्ध भएको कारणले जिल्लामा एक जनाको मात्रै पीसीआर परीक्षण गरिएको र उनीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।
संक्रमण पुष्टि भएका व्यक्ति अस्पतालमै कार्यरत ३३ वर्षीय पुरुष हुन् । उनि अस्पतालको क्वाटरमा बस्दै आएका छन् ।
स्वास्थ्य मन्त्रालयले नारायणी अस्पताललाई रिएजेन्ट किट उपलब्ध नगराउँद परिक्षण अवरुद्ध भएको हो । मन्त्रालयले विगत दुई हफ्तादेखि अस्पताललाई रिएजेन्ट किट उपलब्ध गराउन छोडेको छ ।
मन्त्रालयले रिएजेन्ट उपलब्ध गराउन छाडेपछि अस्पतालले हालका लागि काम चलाउँन भएपनि काठमाडौँबाट उधारोमा मगाएर परिक्षण गरिरहेको छ । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. सञ्जयकुमार ठाकुरले मंगलबार काठमाडौँबाट रिएजेन्ट किट समयमै नआइपुगेपछि केहिबेरका लागि परिक्षण रोकिएको जानकारी दिए । रिएजेन्ट आएपछि परिक्षण पुनः सुरु भएको उनले बताए ।