चितवनमा रिएजेन्टको अभावका कारण रोकियो कोरोना परीक्षण

   ६ आश्विन २०७७, मंगलवार १५:४९  

६ असोज, रौतहट । भरतपुर अस्पतालको काभिड १९ परीक्षण प्रयोगशालामा रिएजेन्टको अभावका कारण कोरोना परीक्षण रोकिएको छ । अस्पतालले रिएजेन्ट माग गरिएको भएपनि प्राप्त नभएका कारण परीक्षण रोकिएको भरतपुर अस्पतालले जनाएको हो । डेढ हप्ता देखि प्रयोगशालामा रिएजेन्टको अभाव हुँदै आएको छ ।

आइतबारसम्म विभिन्न अस्पतालहरूबाट सापटी मागेर काम चलाइएपनि त्यसयता भने परीक्षण नै गर्न नसकिएको प्रयोगशालाले जनाएको छ ।

यस्तै, सोमबारदेखि संकलन भएका नमुनाहरू राष्ट्रिय प्रयोगशाला पठाउनुपर्ने अवस्था आएको अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष डाक्टर भोजराज अधिकारीकाअनुसार केन्द्रबाट रिएजेन्ट नआउँदा हेटौंडास्थित प्रयोगशालाबाट रिएजेन्ट मागेर काम चलाइएको थियो । प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीकाअनुसार सोमबारमात्रै २ सय भन्दा बढी स्वाबको नमुना संकलन भएको छ । तर केही दिन यता समयमै परीक्षण हुन नसक्दा नमूना थुप्रने क्रम बढेको छ ।

भरतपुर अस्पतालले मंगलबारसम्म रिएजेन्ट आइनपुगे नमुनाहरू राष्ट्रिय प्रयोगशाला काठमाडौं पठाउनुपर्ने जनाएको छ । रिएजेन्टको आवश्यकतासम्बन्धी पटक–पटक सम्बन्धित निकायमा जानकारी गराएको तर समस्याको समाधान हुन नसकेको अध्यक्ष डा. अधिकारीले बताए।