गण्डकी प्रदेशमा थपिए ३८ कोरोना संक्रमित

   ५ आश्विन २०७७, सोमबार १३:५४  

५ असोज, रौतहट । सोमबार गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । तनहुँमा १७, बागलुङमा १४, कास्कीमा ४, स्याङ्जामा २ र गोरखामा १ जनागरी थप ३८ जनामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएका छन् ।

तनहुँका सबै संक्रमित शुक्लागण्डकी नगरपालिकाका नै हुन् । त्यहाँको वडा नम्बर ५, ६, ८, १० र ११ मा संक्रमित भेटिएका छन । सबैभन्दा बढी वडा नम्बर ५ मा १३ जना संक्रमित भेटिएका छन् । बागलुङमा सबै संक्रमित ढोरपाटन नगरपालिका हुन् । त्यहाँको वडा नम्बर १ मा १३ जना र वडा नम्बर ४ मा १ जना भेटिएका हुन् ।

ढोरपाटन १ का संक्रमित नेपाल बैंक, हिमाल मेडिकल, भट्टराई इलेक्ट्रोनिक्स, ढोरपाटन नगरपालिका कार्यालय, बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र, धौलागिरि होटल, साइला होटल, सिटी क्लिनिकमा कार्यरतहरु हुन् । ढोरपाटन – ४ का ३१ वर्षीय पुरुष भने भारतबाट आई क्वारेन्टिनमा बसेका थिए ।

कास्कीको रुपा गाउँपालिकामा ३ र माछापुच्छ्रे गाउँपालिकामा १ जना संक्रमित भेटिएका छन् । त्यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिका– १ मा २ जना र गोरखाको सिरानचोक गाउँपालिका– ६ मा एक जना संक्रमित भेटिएका छन् । गोरखाका ती संक्रमित ३३ वर्षका पुरुष हालै भारतबाट आई क्वारेन्टिनमा बसेका थिए ।