आमाछोरीसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

   ५ आश्विन २०७७, सोमबार ११:२५  

५ असोज, रौतहट । पोखरीमा डुबेर एकै परिवारका आमाछोरीसहित तीन जनाको मृत्यु भएको छ ।

मोरङको ग्रामथान ४ मोतिपरको पकिया टोलमा रहेको माछा पोखरीमा डुबेर आइतबार तीन जनाको मृत्यु भएको हो । ग्रामथान र कटहरी गाउँपालकाको सीमामा पर्ने बाबा बनस्खण्डी मन्दिर परिषरमा रहेको पोखरीमा आमा र दुई छोरीको डुबेर मृत्यु भएको गाउँपालिका अध्यक्ष नारायण माझीले जानकारी दिए ।

पोखरीमा डुबेर मृत्यु हुनेमा अन्दाजी ३५ वर्षीया आमा सीता अधिकारी, छोरीहरू १३ वर्षीया पवित्रा र ९ वर्षीया कृतिका अधिकारी रहेका माझीले बताए । रुद्र कटवालको सो पोखरीमा अधिकारी परिवार माछा रुग्ने काम गर्दै आएका थिए । त्यस पोखरीमा माछालाई चारो दिन गएको र छोरीहरू नुहाउने क्रममा घटना भएको हुनसक्ने गाँउपालिका अध्यक्ष माझीले जानकारी दिए ।

माझीले भने, ‘दुवै छोरी नुहाउने क्रममा डुबेपछि अत्तालिएर आमा छोरीलाई बचाउने क्रममा पोखरीमा डुबेको हुन सक्छ।’ डुबेका तीनै जनाको शव प्रहरी र स्थानीयले आइतबार साँझमा झिकेर पोष्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पतालमा राखिएको छ।