नेपालमा थप १३२५ जनामा कोरोना संक्रमण पुष्टि, १० को मृत्यु

   ४ आश्विन २०७७, आईतवार १७:३५  

४ असोज, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ६४ हजार १ सय २२ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आईबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार बितेको २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३ सय २५ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

त्यस्तै बिगत २४ घण्टामा थप ९ सय ६६ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यससंगै हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ४६ हजार २ सय ३३ पुगेको छ ।

त्यसैगरी २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । यीसहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७६७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ६०२, भक्तपुरका १०१ र ललितपुरका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा ९ लाख १४ हजारको पीसीआर परीक्षण भएको छ ।