कोरोना सर्ने सम्भावना चस्मा लगाउने मानिसलाई कम

   ३ आश्विन २०७७, शनिबार १५:०७  

३ असोज, रौतहट । चीनका केही कोरोना बिरामीबारे अध्ययन गरेका अध्येताले एउटा नयाँ अनुमान गरेका छन् । नियमित चस्मा लगाउनेहरू नलगाउनेभन्दा कोरोनाबाट बढी सुरक्षित हुन सक्छन् ।
अध्येताहरूले कोरोना संक्रमण भएर अस्पताल भर्ना भएका बिरामीहरूको तथ्यांक विश्लेषण गरेका थिए। यही क्रममा उनीहरूले यो अनौठो प्रवृत्ति फेला पारेका हुन्। उनीहरूले अध्ययन गरेका बिरामीमध्ये नियमित रूपमा चस्मा लगाउनेहरू थोरै मात्र थिए।

चीनको सिजोउस्थित एक अस्पतालमा ४७ दिनको अन्तरमा दुई सय ७६ बिरामी भर्ना भएका थिए। कुल बिरामीको ६ प्रतिशत अर्थात् १६ जनाले दैनिक आठ घन्टाभन्दा बढी समय चस्मा लगाउन पर्थ्यो। उनीहरूमा नजिकका दृश्य मात्र देख्ने रोग (म्योपिया) थियो।

जबकि यसअघिको अर्को अध्ययनले त्यही भेगमा यही उमेर समूहका मानिसमा आँखाको यो कमजोरी ३० प्रतिशतभन्दा बढी जनसंख्यामा फेला परेको थियो। यति धेरै जनसंख्याले चस्मा लगाउने भए पनि कोरोना संक्रमितमध्ये चस्मा लगाउनेहरू त निकै कम छन्।

यसले वैज्ञानिकहरूमा एउटा आशंका भयोः कतै चस्मा लगाएका कारण पनि मानिसहरू संक्रमित हुनबाट जोगिएका त होइनन् ।
चीनमा सबै उमेर समूहका मानिसबीच चस्मा लगाउने प्रवृत्ति आम छ, अध्ययनपछिको लेखमा उल्लेख छ, वुहानमा डिसेम्बर २०१९ ताका व्यापक मात्रामा कोरोना फैलिएकै बेला हामीले अस्पतालहरूमा चस्मा लगाउने थोरै बिरामी मात्र देखेका थियौं।
यो निष्कर्ष उपलब्ध प्रमाणमाथिको प्रारम्भिक अध्ययनको आधारमा हो। तै पनि दैनिक चस्मा लगाउनेमा कोरोना सर्ने सम्भावना कमै देखिएको भनेर लेखकहरूले उल्लेख गरेका छन्।

यसबारे अहिल्यै निष्कर्षमा पुग्नु भने हतारो हुने विज्ञहरूले बताएका छन्। मानिसहरूलाई जोखिमबाट बचाउन मास्कसहित चस्मा पनि लगाउनु भनेर सुझाव दिन अहिले नै पर्याप्त आधार नभेटिइसकेको उनीहरूले औंल्याएका छन्।