आजबाट रौतहटमा पिसिआर ल्याब संचालन

   २ आश्विन २०७७, शुक्रबार १६:५१  

 

२ असोज, रौतहट । कोविड १९ (कोरोना) परिक्षणको लागी रौतहटमा आजबाट पिसिआर ल्याब संचालनमा आएको छ ।

प्रदेश मन्त्रालयको सहयोगमा रौतहटको गौर अस्पतालमा आजबाट पिसिआर परिक्षण ल्याब संचालनमा आएको हो । प्रदेश २ सरकारकारका सामाजिक विकास मन्त्री नवलकिशोर साहले आज सो ल्याबको उदघाटन गरेका हुन । आज बाट संचालनमा आएको सो ल्याबमा ६ घण्टाको भित्रमा ७२ वटा स्वाब परिक्षण हुने क्षमता रहेको गौर अस्पतालले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त निर्णयले जिल्लाका स्थानिय तहहरुले सो ल्याब र आइसोलेसन निर्माणका लागी पाँच लाख रुपैयाका दरले सहयोग गरेका थिए । ल्याब संचालनमा आए पछि स्वाबको नतिजा चाडै प्राप्त हुने संक्रमितहरुको पहिचान गर्न सहज हुने गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णा साहले बताए ।

पिसिआर ल्याब उदघाटन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री नवलकिशोर साहले प्रदेश २ कोरानाका कारण नराम्ररी प्रभावित भएको र समुदाय स्तरको संक्रमणले थप चुनौतीको सामना गर्नु परेको बताए । प्रदेश २ सरकारले स्वास्थ्य पूर्वाधारको विकास र संक्रमणका बेला जोखिम नियन्त्रण गर्न हरसम्भव प्रयास जारी राखेको उनले बताए । आठ वटै जिल्लाहरुमा कोविड नियन्त्रणका लागी पठाइएको रकमको प्रयोग हुन नसकेको प्रति गुनासो गर्दै मन्त्री साहले स्थानिय तह र प्रशासनले पनि अस्पतालहरुको प्रभावकारीताको लागी लगातार अनुगमन र निगरानी गर्नु पर्ने बताए ।

उदघाटन कार्यक्रममा प्रदेश सरकारका राज्यमन्त्रीद्धय योगेन्द्र यादव र डिम्पल झाका साथै जिल्लाका स्थानिय पालिकाहरुका प्रमुख तथा सरकारी अधिकारीहरु उपस्थीत रहेका थिए ।