रौतहटका एसपीसहित ६ जना प्रहरीमाथि अनुसन्धान सुरु

   १ आश्विन २०७७, बिहीबार १५:०८  

१ असोज, रौतहट । रौतहटमा चरम यातनाबाट विजय रामको प्रहरी हिरासतमा मृत्यु भएको प्रकरणमा एसपीसहित ६ प्रहरीमाथि अनुसन्धान सुरु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी रविराज खड्कासहित ६ प्रहरी विरुद्ध जिल्ला प्रहरी कार्यालय रौतहटले जाहेरी दर्ता गरेर अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरीका तत्कालीन प्रमुख एसपी रविराज खड्का, इप्रका गरुडाका तत्कालीन प्रमुख एवं डिएसपी ज्ञानकुमार महतो, इन्सपेक्टर नविनकुमार सिंह, सई विरेन्द्र यादव, प्रहरी हवलदारद्वय मुन्नुकुमार सिंह र हिरोज धुनियाविरुद्ध यातना र ज्यान सम्बन्धी कसुरमा पीडित पनिलाल महराले सरकारी वकिलको कार्यालयमा जाहेरी दर्ता गराएका थिए ।

सुरुमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए पनि दर्ता नभएपछि उनले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका हुन । सरकारी वकिलको कार्यालय गौरले जिल्ला प्रहरी कार्यालयको नाममा चलानी नम्वर ३४४ को पत्रसँगै किटानी जाहेरीसमेत पठाएर आवश्यक कारवाही गर्न भनेसँगै जिल्ला प्रहरी कार्यालय गौरमा भदौ २५ गते मुद्दा दर्ता भएको एसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।