एप्पल आइप्याडको १० तथ्य

   १ आश्विन २०७७, बिहीबार १३:१६  

१ असोज, रौतहट । नयाँ आइफोन ल्याउने पूर्वानुमानलाई गलत सावित गर्दै एप्पलले बुधबार आफ्नो नयाँ संस्करणको आइप्याडसँगै एप्पल वाच पनि सार्वजनिक गर्यो ।एप्पलले यो पटक सार्वजनिक गरेको आइप्याड एयर उसको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली आइप्याड हुनेछ ।

उक्त नयाँ आइप्याड एयरमा ए१४ बायोनिक चिप हुनेछ, जुन एप्पलको अहिलेसम्मकै आइप्याडमा भएको मध्ये सबैभन्दा शक्तिशाली प्रोसेसर हो । अल स्क्रिन डिजाइनमा रहेको यो आइप्याडको टप बटनमा टच आइडी सेन्सर रहेको छ ।

एप्पलले बुधबार नै लञ्च गरेको आइप्याड अपरेटिङ सिस्टम आइप्याडओएस १४ प्रयोग भएको यो नयाँ आइप्याड एयर बारेमा जान्नैपर्ने १० तथ्य यस्ता छन्:

-नयाँ आइप्याड एयर दुईवटा स्टोरेज मोडेलमा आउनेछ । एउटा मोडेलमा ६४ जिबी र अर्कोमा २५६ जिबी स्टोरेज रहनेछ ।

-वाइफाइ कनेक्टिभिटी मात्र रहेको आइप्याड एयरको मूल्य अमेरिकामा ५ सय ९९ डलर तोकिएको छ भने वाइफाइ तथा सेलुलर कनेक्टिभिटी सहितको आइप्याढ एयरको मूय ७२९ डलर रहेको छ ।

-नयाँ आइप्याड एयर सिल्भर, स्पेस ग्रे, रोजगोल्ड, ग्रिन तथा स्काइ ब्लु गरी पाँचवटा रङमा उपलब्ध हुनेछ ।

-नयाँ आइप्याडमा १०।९ इन्चको लिक्विड रेटिना डिस्प्ले हुनेछ जसमा उज्यालोमा नटल्किने एन्टि रिफ्लेक्टिभ लेपन हुनेछ ।

-ए १४ बायोनिक चिपका कारण नयाँ आइप्याड एयर अहिलेसम्मकै फास्ट आइप्याड हुनेछ । उक्त प्रोसेसरका कारण प्रयोगकर्ताहरुले आइप्याडमै फोर के भिडियो समेत इडिट गर्न सक्नेछन् । उक्त चिपका कारण आइप्याढ एयरको सिपियू क्षमतामा ४० प्रतिशत तथा ग्राफिक्समा ३० प्रतिशतले बढोत्तरी भएको दाबी गरिएको छ ।

-एप्पलका अनुसार ए १४ बायोनिक चिपमा नयाँ १६ कोर न्यूरल इन्जिन रहेको छ, जसले प्रति सेकेण्ड ११ ट्रिलियन अपरेसन्स गर्न सक्दछ । उक्त चिपमा ११ अर्ब ८० करोड ट्रान्जिस्टर्स प्रयोग भएका छन् ।

-एप्पलका अनुसार नयाँ आइप्याड विभिन्न ३० मुलुक तथा क्षेत्रहरुमा एप्प्ल डट कम तथा एप्पल स्टोरहरु मार्फत् आगामी अक्टोबर महिदेखि बजारमा उपलब्ध हुनेछ ।

-आइप्याड एयरमा युएसबी सी पोर्ट रहेको छ जसले ५ गिगाबाइट प्रति सेकेण्डको दरमा डाटा ट्रान्सफर गर्न सक्नेछ ।

-नयाँ आइप्याड एयरमा ७ मेगापिक्सेलको सेल्फी क्यामरा रहेको छ, जसमा फेसटाइम एचडी प्रविधि रहेको छ । मुख्य क्यामरा चाहीँ १२ मेगापिक्सेलको रहेको छ । उक्त क्यामरा मार्फत उच्च रिजोलुसन युक्त फोटोहरु तथा फोर के भिडियो समेत रेकर्ड गर्न सकिन्छ ।

-नयाँ आइप्याडलाई म्याजिक किबोर्ड, स्मार्ट किबोर्ड फोलियो तथा एप्पल पेन्सिलबाट पनि चलाउन सकिन्छ ।

एजेन्सी