विश्वकर्मा पूजा किन गरिन्छ ? यस्तो छ महत्व

   १ आश्विन २०७७, बिहीबार ११:१७  

विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर तथा वास्तुकार भनेर भनिने गरिन्छ । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरेकाे भन्ने धार्मिक जानकारहरु बताउँछ । भगवान महादेवले ब्रह्मा तथा विष्णुलाई सृष्टिको सृजना र पालनको छुटछुट्टै जिम्मेवारी दिएका थिए । सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रह्माले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिएकाे भन्ने मान्यता रहेकाे पाहिन्छ ।

भगवान विश्वकर्माको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर उल्लेख गरिएको छ । बाबा विश्वकर्माकाे अनन्त तथा अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका साथै कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छ । विश्वकर्माकाे पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिनुका साथै काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने धार्मिक विश्वास रहेको पाहिन्छ । विश्वकर्मा एक महान ऋषि तथा ब्रम्हाज्ञानी थिए । उनले नै देवताको घर, नगर, अस्त्र-शास्त्र आदि निर्माण गरेकाे हुँदा उनी महान शिल्पकार थिए ।

वास्तुदेवका अंगिरसी नामक पत्नीबाट विश्वकर्मा जन्मिएका हुन् । महाभारत आदिपर्व अध्याय १६ श्लोक २७ एवं २८ मा पनि यसको स्पष्ट उल्लेख गरेकाे पाइन्छ । वराह पुराणको अ. ५६ मा उल्लेख भए अनुसार सबै मानिसको उपकारार्थ ब्रम्हा परमेश्वरले विश्वकर्मालाई पृथ्वीमा उत्पन्न गरेका हुन् । उनले घर, कुवा, रथ, शास्त्र आदि समस्त प्रकारका शिल्पीय पदार्थको रचना गरेका थिए । प्राचिन कालमा जनकल्याणार्थ मनुष्यलाई सभ्य बनाउने संसारमा अनेक जीवनोपयोगी वस्तु निर्माण गरेका कारण उनलाई आचार्यको पनि आचार्य भनिन्छ । प्राचीन समयमा इन्द्रपुरी, लंकापुरी, यमपुरी, वरुणपुरी, कुबेरपुरी, पाण्डवपुरी, सुदामापुरी, द्वारिका, शिवमण्डलपुरी, हस्तिनापुर जस्ता नगरको निर्माण विश्वकर्माले नै गरेका थिए । कर्णका कुन्डल, विश्वको सुदर्शन चक्र, पुष्पक विमान, शंकर भगवानको त्रिशूल, यमराजको कालदन्ड आदि वस्तु निर्माण गरेका कारण उनलाइ सम्मान पूर्वक विश्वकर्मा बाबा (गुरु) काे रुपमा सम्झने गरिन्छ ।

पूरै ब्रह्माण्डको गरेथे निर्माण

हिन्दू पौराणिक कथाका अनुसार उनले पूरै ब्रह्माण्डको निर्माण गरेका थिए । पौराणिक कालमा चलाईने सबै हतियारको निर्माण पनि विश्वकर्माले नै गरेका थिए । जसमा बज्र पनि सामेल छ । जुन भवगान ईन्द्रको हतियार थियो । वास्तुकारहरुले कैयौ युगदेखि विश्वकर्मालाई आफ्नो भगवान मानेर उनको पूजा गर्दै आईरहेका छन् ।

विश्वकर्मा पूजाको आध्यात्मिक महत्व

जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन् । सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ । उनीहरु सबैको मुल विश्वकर्मा हो । त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ ।