बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक संक्रमितको मृत्यु

   ३१ भाद्र २०७७, बुधबार ११:०७  

३१ भदौ, रौतहट । धरानमा उपचारत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

गत २८ भदौमा कोरोना पोजेटिभ आएपछि, उनलाई भदौ ३० गते प्रतिष्ठानमा भर्ना गरिएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताए । उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको हो ।

प्रवक्ता सापकोटाका अनुसार एक वर्षयता मृगौलामा समस्या भएका कारण उनी नियमित डाइलसिस गराइरहेका थिए । हप्तामा दुई पटक डाइलसिस गर्ने युवकमा उच्च रक्तचापको पनि समस्या थियो ।

सप्तरीका युवकसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या ५१ पुगेको छ । ती मध्ये १४ जना प्रदेश २ र ३६ जना प्रदेश १ का छन ।