विद्युतको खम्बाबाट खसेर एक कर्मचारीको मृत्यु

   ३० भाद्र २०७७, मंगलवार १४:२९  

३० भदौ, रौतहट । नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । कुश्मा नगरपालिका ७ खरेहामा विद्युत मर्मतका लागि खम्बा चढेका ३५ वर्षीय भोलाराम शर्माको खसेर मृत्यु भएको हो ।

बाग्लुङ नगरपालिका १ रामरेखा घर भएका शर्माको पोलबाट खसेपछि उपचारका लागि पर्वत अस्पतालमा र्पुयाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिए ।

अवरुद्ध विद्युत लाइन मर्मतका लागि शर्मा साँझ साढे ७ बजे पोलमा चढेका थिए । उनलाई करेन्ट भने नलागेको वितरण केन्द्रले जनाएको छ । शर्मा नेपाल विद्युत प्राधिकरणमा तेस्रो तहको इलेक्ट्रिसियन पदमा कार्यरत थिए ।

उनको शव परीक्षणका लागि पर्वत अस्पतालको शवगृहमा राखिएको छ । परीक्षणपछि शव परिवारलाई बुझाइने प्रहरीले जनाएको छ ।