रौतहटमा असोज १ देखि लकडाउन खुकुलो
३० भदौं, रौतहट । कोरोना भाइरस (कोविड १९) को संक्रमणका कारण रौतहट प्रशासनले जारी गरेको निषेधाज्ञा असोज १ गते देखि खुकुलो हुने भएको छ ।
समुदाय एवं सर्वसाधारणमा कोरोना संक्रमणको जोखिम कम गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ तथा संक्रमण रोग ऐन, २०२० को दफा २ बमोजिम भदौ मसान्त सम्म जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागु गरेको थियो । दैनिक जिवनलाई थप कष्टकर हुन नदिन मठमन्दीर, विद्यालय तथा सबै किसिमका सभा जुलुस, सिनेमा हल बाहेक अन्य दैनिक जिवनका कार्यहरुलाई संचालनको अनुमित दिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
जिल्ला भित्र रहेका सबै किसिमका व्यापार व्यवसाय, उद्योग, सरकारी कार्यालय तथा गैरसरकारी सँस्थाहरु, बैंक वितिय सँस्था, जिल्ला भित्र संचालन हुने यात्रुबाहक सवारी साधनहरु संचालनमा लगाइएको बन्देज पनि हटेको छ । विद्यालय, कलेज, क्याम्पस लगायतका शैक्षिक सँस्थाहरुलाई भने संचालनको अनुमति भने प्रशासनले दिएको छैन ।
नेपाल सरकारद्धारा जारी भएको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पालना गर्ने शर्तमा सो सहुलियत प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।