कर्णालीमा थपिए १० कोरोना संक्रमित, ११० डिस्चार्ज

   २८ भाद्र २०७७, आईतवार १६:०७  

२८ भदौ, रौतहट । बितेको २४ मा कर्णाली प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका चार जिल्ला र अन्य प्रदेशका एक जिल्लाका व्यक्तिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली प्रदेशस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा आज थप १० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

नयाँ संक्रमितमध्ये सुर्खेतका पाँच जना, जुम्लाका दुई जना, दैलेख, रुकुम पश्चिम र सिराहाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८६ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार आइतबार मात्रै प्रदेशमा थप ११० जना कोरोनामुक्त भएका छन । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ५सय ५ पुगेको छ ।

आइतबार सम्मा प्रदेशभर २ सय ७५ जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जनाए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु भएको छ ।