विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको पदावधि आज सकिँदै
२८ भदौ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङको पदावधि आज सकिँदै छ । घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी पदमा नियुक्त भएका थिए । उनको चारवर्षे कार्यकाल आज पूरा हुँदै छ ।
तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई चिलिमे जलविद्युत् कम्पनीको प्रबन्ध सञ्चालक हुँदा काम सन्तोषजनक नभएको भन्दै प्राधिकरण केन्द्रीय कार्यालयमा तानेकी थिइन् । त्यसपछि ऊर्जामन्त्री बनेको जनार्दन शर्माले घिसिङलाई कार्यकारी प्रमुखमा नियुक्त गर्न प्रस्ताव गरेको थिए ।
मन्त्रिपरिषद् पुगिसकेको छैन दोहोर्याउने प्रस्ताव
घिसिङको पदावधि आज सकिने भए पनि उनलाई दोहोर्याउने विषयमा ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पुर्याइसकेको छैन । मन्त्रालयले हालसम्म कुनै प्रस्ताव भने गरिसकेको छैन् । मन्त्रालयले प्रस्ताव गरी नसकेको ऊर्जा सचिव दिनेशकुमार घिमिरेले बताए । मन्त्रालयले प्रस्ताव नगरिसकेको भए पनि लामो समयसम्म उक्त पद खाली भने नराख्ने उनले बताए ।
प्रस्ताव गएको छैन भने घिसिङको कार्यकाल आज सकिने भयो है ? भन्ने प्रश्नमा सचिव घिमिरेले भने, “आज नियुक्त नभएर फरक पर्छ के ? आज वा भोलि पनि प्रस्ताव जान सक्छ । आजै गएर निरन्तर हुनुपर्ने भन्ने त छैन नि,” उनले भने । तर उनले कार्यकारीजस्तो पदलाई धेरै समय खाली नराख्ने भने बताए । “कार्यकारी जस्तो पदलाई लामो समय खाली राख्दैनौं । चाँडो पूर्ति गर्ने हो ।”
प्राधिकरणका कर्मचारीहरुले उनको बिदाइमा कार्यक्रम गर्दैछन् ।