रौतहटमा नक्कली नागरिकता प्रकरण
२८ भदौं, रौतहट । भारतीय नागरिकलाई नक्कली कागजात खडा गरि रौतहटबाट नेपाली नागरिकता प्रदान गरेको रहस्य खुलेको छ । भारत बंगालका एक भारतीय नागरिकलाई २०६३ को नागरिकता टोलिले किर्ते कागजात र सिफारिसको आधारमा नागरिकता दिएको हो ।
भारत बंगालका विप्लव कान्ती बोसलाई रौतहटको तत्कालीन बडहर्वा गाविसबाट नागरिकता सिफारिस भएको पाइएको हो । नक्कली नागरिकता मुद्दामा रौतहट प्रहरीको आग्रहमा गत मंगलबार ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरले पक्राउ गरेको विके भनिने विप्लव कान्ति बोसले रौतहटमा नागरिकता लिएको बेला सिफारिस दिनेलाई जग्गा किनेर भोगचलनको लागि दिएको खुलेको छ । २०६३ सालमा नागरिकताको घुम्ती टोलीबाट उनले चैत ६ गते तत्कालीन वडहर्वा गाविस वडा नम्बर ५ बाट ३२३०००४–४३ नम्बरको नागरिकता लिएको खुलेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
भारतीय नागरिक बोसलाई नागरिकता दिन तत्कालीन वडहर्वा गाविसको सर्वदलिय टोलीले नागरिकताको लागि सिफारिस गरेको थियो । जस मध्ये तत्कालिन नेपाली कांग्रेसका गाविस प्रतिनिधी नवल चौधरी सहितको उपस्थिती रहेको थियो । “स्थानीय व्यक्तिहरुले यसै स्थानको नागरिक हो भनेको कारण नागरिकता बनाउन मैले टोली समक्ष सिफारिस गरेको थिए ।” चौधरीले भने “त्यो बेलाको कुरा मलाई अहिले थाहा छैन । नागरिकता सिफारिसको लागी मैले पैसा लिएको छैन ।”
पक्राउ परेका बोसको बयान कार्य सकिएको र मुद्दाको काम अन्तीम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए । “जन्मसिद्ध वंशजको आधारमा उनले नागरिकता पाएको देखिएको छ ।” डिएसपी श्रेष्ठले भने “नागरिकता लिएको बखत बुवाको नागरिकता लगायतका अन्य कागजातहरु पेश गरेको पाइएको छैन ।” जिल्ला प्रशासन कार्यालय रौतहटमा उनको नागरिकतामाथि छानविन गर्न गृहमन्त्रालयले २०७६ माघमा पत्रचार गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परे पछि उनको नागरिकता छानविनको लागि गृह मन्त्रालय हुदै जिल्ला प्रशासन कार्यालय रौतहटमा जानकारी आएको थियो ।
पक्राउ परेका बोसको नागरिकताको छानबिन कार्य जारी रहेको र नागरिकता लिदा उनले उपलब्ध गराएका सबै कागजातहरुको परिक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । “अख्तीयार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको आधारमा गृह मन्त्रालय हुदै जिल्ला प्रशासन कार्यालय मार्फत छानबिनको काम अगाडि बढेको छ ।” प्रमुख जिल्ला अधिकारी यादवले भने “अनुसन्धान कार्य जारी रहेकोले थप कुरा बिस्तारै खुल्दै जान्छ ।”
जन्मको आधारमा नागरिकता लिन बुबा तथा आमा पनि लामो समयदेखि नेपाल बस्नु पर्ने भएपनि भारत बंगाल स्थायी घर भएका बोस २०५५ सालमा ग्लोबल राइटिङग सिष्टममा ओभरसियरका रुपमा नेपाल आएका थिए, त्यसपछि उनी सुपरलेमिकोट्समा उद्योग म्यानेजरका रुपमा कार्यरत रहँदै आएका थिए । नेपाल आएपछि सुरुदेखि नै हेटौंडा बसेका उनी २०६३ सालमा मात्रै रौतहट जिल्लाबाट नागरिकता लिन सफल भएका थिए । उनी हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सुपर लेमिकोट्स प्रालि र हेटौंडा–५ गर्दौइमा रहेको नारायणी मिल्कका संचालक हुन् । उनको हेटौंडामा अहिले करोडौंको सम्पत्ति रहेको छ ।
रौतहट जिल्लाबाट झुठो विबरण पेश गरेर नेपाली नागरिकता लिने व्यापारी हेटौंडाबाट पक्राउ परेपछि त्यस्ता अन्य नागरिकताको समेत छाविन हुनुपर्ने माग उठन थालेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटमा झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका व्यक्तिहरुको समेत छानबिन हुनु पर्ने स्थानियको माँग रहेको छ ।