पहिरोले पुरिएर एकै परिवारका २ बालकको मृत्यु

   २७ भाद्र २०७७, शनिबार ११:४५  

२७ भदौ, रौतहट । रोल्पामा घर पुरिदाँ एकै परिवारका दुई बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएको छन् ।

रोल्पाको लुंग्री गाउँपालिकामा गएराति घर पुरिदाँ लुंग्री गाउँपालिका १ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए । दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीले बताए ।

उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ । पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन ।

उनीहरुलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए । ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनले जानकारी दिए ।