पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, चितवनमा थप ३४ जनामा कोरोना पुष्टि

   २६ भाद्र २०७७, शुक्रबार १०:५६  

२६ भदौ, रौतहट । कोरोना संक्रमणका कारण ललितपुरको पाटन अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । काठमाडौँका ६३ वर्षीय पुरुषको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

ती पुरुषको आज बिहान ३ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएका छन् । उनी भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए । उनमा कोरोना संक्रमणबाहेक अन्य स्वास्थ्य समस्या थियो कि थिएन भन्नेबारे स्वास्थ्य कार्यालयले खुलाएको छैन ।

यस्तै, चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर कोभिड प्रयोगशालामा स्वाबको नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन । उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।

यसैगरी, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ । यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ । हालसम्म कोरोनाबाट चितवन जिल्लाका १३ सहित २४ जनाको मृत्यु भैसकेको छ ।