सडकमा बान्ता गराउँदै संक्रमितलाई आइसोलेसनमा लगिएपछि विरोध
२५ भदौ, रौतहट । कोरोना संक्रमितलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा लैजाने क्रममा चरम लापरवाही गरेको भन्दै गोरखा नगरपालिका–७ बतासेका बासिन्दाले विरोध जनाएका छन । संक्रमितलाई एम्बुलेन्समा राखेर सडकमा बान्ता गराउँदै लगेको भन्दै स्थानीयले विरोध जनाएका हुन ।
सोही बस्ती हुँदै गोरखा क्याम्पसको आइसोलेसनमा संक्रमितलाई लगिन्छ । तर संक्रमित ओसारपसारमा लापरवाही भएको स्थानीयको भनाइ छ । बुधवार आइसोलेसन लैजाने क्रममा संक्रमितले वस्ती आसपास तीन ठाउँमा बान्ता गरेको स्थानीय हेमराज ढकाल बताउँछन । ‘बिसौनी मोडदेखि गोरखा क्याम्पस पुग्ने बेलासम्म संक्रमितले तीन ठाउँमा बान्ता गरेछन,’ उनले भने, ‘एम्वुलेन्सको झ्याल खोलेर संक्रमितले पुरै मुन्टो बाहिर निकाल्दै बान्ता गर्दै गइरहेका थिए ।’
वस्ती आसपास खुल्ला रुपमा संक्रमितले बान्ता गर्दा टोलमा संक्रमणको जोखिम बढेको उनले बताए । ‘संक्रमितले गरेको भमिट कुकुरहरुले खाइदिन्छन, अनि त्यही बाटो मानिसहरु आउजाउ गर्नुपर्छ, जोखिम त यसै बढ्यो नि १’ उनले भने । भदौ २१ गते आइतवार पनि एम्वुलेन्सले संक्रमितलाई सडकमै बान्ता गराउँदै लगेको स्थानीय प्रेम श्रेष्ठ बताउँछन ।
‘थुकको छिटाबाट कोरोना सर्छ भन्छन अनि संक्रमितले वस्ती आसपास खुल्ला रुपमा भमिट गर्दै गएपछि हामी स्थानीयलाई रोग लाग्ने खतरा बढेन र ?’ उनले प्रश्न गरे । बान्ता गर्नका लागि संक्रमितलाई प्लाष्टिकका झोला उपलब्ध गराउन र संक्रमित बोकेको समयमा एम्बुलेन्सको झ्याल खोल्न नमिल्ने व्यवस्था गर्न स्थानीयले आग्रह गरेका छन ।