एसपी सहित ६ जना विरुद्ध मुद्दा दर्ता
रौतहट, २४ भदौं । ईलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तको प्रहरी यातनाको कारण मृत्यु भएको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सहित ६ जना विरुद्ध मुद्दा दायर भएको छ ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा पक्राउ परेका विजय महराको प्रहरी हिरासतमा मृत्यु भए पछि मृतकका बुवा पनिलाल रामले एसपी रविराज खडका, ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महतो, प्रहरी निरिक्षक नविन सिंह, प्रहरी नायब निरिक्षक विरेन्द्र यादव, हवल्दार हिरोज मिया धुनिया र मुन्ना सिंह विरुद्ध यातना र ज्यान सम्बन्धी मुद्दा दर्ता गराएका हुन ।
जिल्ला प्रहरी कार्यालयमा रौतहटमा दर्ता भएको सो मुद्दा नं. १–६४ मा ६ जनालाई प्रतिवादी बनाइएको छ । साउन ३२ मा पक्राउ परेका विजय रामलाई प्रहरीले चरम यातना दिए पछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ । १९ वर्षीय विजयको शरीर भरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । मृत्यु अघिको भिडियो सन्देशमा विजय रामले पनि आफूलाई कसुर स्वीकार गराउन प्रहरीले निर्घात कुटपीट गरेको बताएका थिए ।
हिरासतमा यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपी खडकाको जिम्मेवारी खोसिएर उनको स्थानमा अहिले सिद्धिविक्रम शाहलाई पठाइएको छ भने प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेको थियो । यसै गरी प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविन कुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।
प्रहरीका कारण दलित युवकको मृत्यु भएको भन्दै परिवारजन र स्थानियले रौतहटमा प्रर्दशन समेत गरेका थिए ।