नेपालमा थपिए १ हजार ८१ कोरोना संक्रमित

   २४ भाद्र २०७७, बुधबार १६:५८  

२४ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८१ जनामा कोरोना भाइरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा दिएका जानकारी अनुसार ११ हजार १ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ८१ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । योसंगै देशभर कोरोना संक्रमितको कुल संख्या ४९ हजार १ सय १९ पुगेको छ ।

यस्तै, बितेको २४ घण्टामा ९ सय १८ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन्, भने हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या ३३ हजार ८ सय ८२ पुगेको छ ।

त्यस्तै, अहिले नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १५ हजार २५ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ७ हजार ९८८ जना रहेका छन्, भने होम आइसोलेशनमा ७ हजार ३७ जना रहेका छन् ।

त्यसैगरी कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । योसंगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ पुगेको छ ।