कञ्चनपुरमा १६ वर्षीय किशोरीलाई बन्धक बनाएर सामूहिक बलात्कार

   २३ भाद्र २०७७, मंगलवार १६:४१  

२३ भदौ, रौतहट । कञ्चनपुरमा बन्धक बनाएर आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा १६ वर्षकी किशोरीले उजुरी दिएकी छन्। ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको छ ।

जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन । उनका मामाले भाञ्जी हराएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए । किशोरीलाई भदौ १९ गते १२ आरा मिल नजिक प्रहरीले फेला पारेको थियो । त्यसपछि प्रहरीले किशोरीलाई मामाको जिम्मा लगाए ।

तर, घटनाको केही दिनपछि किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन । ‘४ जना युवाले बलात्कार गरेको भन्दै ठाडो उजुरी परेको छ’ प्रहरी स्रोतले भन्यो । ५ दिनसम्म लागू औषध खुवाएर बन्धक बनाएर बलात्कार गरेको उजुरीमा किशोरीले उल्लेख गरेकी छन । साथै प्रहरीकै दबाबमा किशोरीले पहिलो दिन घटनाबारे नबताएको आरोप लागेको छ ।

‘किशोरीले आफूलाई प्रहरीले दबाब दिएको भनेकी छन्’ प्रहरी स्रोतले भन्यो ‘आरोपित प्रहरीमाथि समेत कारबाही प्रक्रिया सुरु भइसकेको छ ।’ बलात्कार गरेको आरोप लागेका ४ जना अहिले फरार छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । ‘हामी अनुसन्धानमै छौँ’ उनले भने ‘कानुनी प्रक्रियाअनुसार अघि बढ्दैछौं ।’