मुख्यमन्त्रीलाई कर्णालीका निजी विद्यालय सञ्चालकले बुझाए तालाचाबी

   २३ भाद्र २०७७, मंगलवार १४:१०  

२३ भदौ, रौतहट । कर्णालीका निजी विद्यालय सञ्चालकहरुले विद्यालय सञ्चालन गर्न नसकिने भन्दै प्रदेश सरकारलाई तालाचाबी बुझाएका छन । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) कर्णाली प्रदेशले निजी तथा आवासीय विद्यालयहरु सञ्चालन गर्न नसकिने आधारपत्रसहित सोमबार मुख्यमन्त्रीलाई तालाचाबी बुझाएको हो ।

कोभिड १९ को माहामारीबाट बच्न सरकारले गरेको लामो लकडाउनले संस्थागत विद्यालयहरू सञ्चालनको प्रक्रियालाई अवरुद्ध पारेको एनप्याब्सनको आरोप छ । लकडाउनका कारण विद्यालय बन्द गर्नुपरेको अवस्थामा कर्मचारी तथा शिक्षकको तलब व्यवस्थापन गर्न कठिन भएको एनप्याब्सनका प्रदेश अध्यक्ष कमलकुमार सिंहले बताए ।

‘बन्दाबन्दीले संस्थागत विद्यालयलाई थुप्रै चुनौतीहरू थपिएका छन, सरकारले अभिभावकबाट शुल्क नलिनु भन्छ, शिक्षकले तलब मागेका छन,’ अध्यक्ष सिंहले भने, ‘अहिले लकडाउन छैन । बैंक, होटेल र बजारमा सयौं मान्छेहरूको भिडभाड कायम छ । हामी स्वास्थ्य सुरक्षा मापदण्डसहित विद्यालय खोल्दा जोखिम बढ्ने ?’

विकल्पसहित विद्यालय सञ्चालनका आधारहरू पेस गर्दा पनि सरकारले सञ्चालन गर्न नदिनु संस्थागत विद्यालयहरूलाई धरासायी बनाउने षड्यन्त्र भइरहेको उनको आरोप छ ।

तालचाबी बुझ्दै मुख्यमन्त्री महेन्ऽबहादुर शाहीले कोरोना महामारीका कारण विद्यालयहरूसँगै आर्थिक र सामाजिक क्षेत्रमा समेत ठूलो समस्या परेको भन्दै तत्काल संघीय सरकारसँग समन्वयगरी समस्या समाधानका लागि पहल गर्ने बताए ।