अर्घाखाँचीका कोरोना संक्रमितको मृत्यु, मोरङका एक थुनुवामा कोरोना पुष्टि

   २३ भाद्र २०७७, मंगलवार १३:२५  

२३ भदौ, रौतहट । कोरोना संक्रमणबाट अर्घाखाँचीका एक जनाको मृत्यु भएसंगै मोरङमा एक जना थुनुवामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ ।

अर्घाखाँचीका एकजना कोरोना संक्रमित पुरुषको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहोलपुरमा मृत्यु भएको छ । सितगंगा नगरपालिका १२ का ४२ वर्षीय पुरुषको मंगलबार बिहान ९ ; २० बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिए । मृतक भदौ ११ गते कोहलपुरस्थित शिक्षण अस्पतालमा गम्भीर अवस्थामा भर्ना भएका थिए ।

भेन्टिलेटरमा राखेर उपचार गर्दा केही सुधार भए पनि मंगलबार उनको मृत्यु भएको श्रेष्ठले बताए । मृतक साउन २७ गते टिपर दुर्घटनामा गम्भीर घाइते भएपछि उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना भएका थिए । दायाँ करङ् र नाडी भाँचिएका उनको १४ दिनपछि अप्रेसन गर्नुअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।

त्यसपछि उनी भैरहवाकै भीम अस्पतालमा रिफर भएका थिए । भीम अस्पतालले समेत कोरोना संक्रमितको शल्यक्रिया गर्न जोखिम हुने भएकोले ११ गते कोहलपुर रिफर गरेको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको छ । जवरजस्तीकरणी मुद्दामा पक्राउ परेका व्यक्तिमा कोरोना पोजेटिभ देखिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईका संक्रमित पुरुष सुनवर्षी नगरपालिका ४ का २६ वर्षीय युवक हुन । ती युवकलाई प्रहरीले २० भदौमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।

सोमबार राति पोजेटिभ रिपोर्ट आएको हो । संक्रमित युवकलाई विराटनगरस्थित मारवाडी सेवा सदनको आइसोलेसनमा भर्ना गरिएको छ । प्रहरीको हिरासतमा २६ जना थुनुवा छन ।