कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   २३ भाद्र २०७७, मंगलवार १०:५६  

२३ भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । कपिलवस्तुका एक जना र वीरगञ्जका एक जना गरी थप दुई जनाको मृत्यु भएको छ ।

कपिलवस्तुको तौलिहवाका ६२ वर्षीय ती पत्रकारको सोमबार दिउँसो मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो पत्रकार हुन । मृत्युपछि स्वाब संकलन गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।

ती पत्रकारमा उच्च रक्तचाप, मधुमेह र मिर्गौला पनि समस्या थियो । घरमै रहेका बेला अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई जिल्ला अस्पताल तौलिहवा पु¥याइएकोमा अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको हो । उनी नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद पनि थिए ।

यसैबीच नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले प्रेस विज्ञप्ति निकालेर मृतक पत्रकारप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

यस्तै, वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गएराति १० बजेर ५ मिनेटमा मृत्यु भएको हो । उनको स्वाब गत साउन १४ गते संकलन गरिएको र सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसपछि साउन १४ गतेदेखि नै उनी अस्पताल भर्ना भएर उपचार गराउँदै आएका थिए । ती पुरुषमा कोरोना संक्रमणका साथै टाइप टु डायबिटिज लगायतको समस्या पनि रहेको अस्पतालले जनाएको छ ।