वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

   २२ भाद्र २०७७, सोमबार १५:४३  

२२ भदौ, रौतहट । कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–३० लालपर्साका ५४ वर्षीय पुरुषको वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आईसीयूमा उपचारको क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको हो ।

अस्पतालका चिकित्सक डा. नौसाद अलीका अनुसार मधुमेह, उच्च रक्तचाप, दम र मृगौला रोगबाट ग्रसित उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा पठाएको थियो । वीरगञ्ज हेल्थ केयरमा ३ पटक मृगौलाको डायलायसिस पनि गरिएको थियो ।

तर विभिन्न दीर्घ रोगबाट ग्रसित उनमा कोभिड निमोनिया देखिएको थियो । उपचारपछि पनि स्वास्थ्यमा सुधार आउन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन । ‘फुल अक्सिजन दिएर आईसीयूमा राखेका थियौं, १२ बजेतिर बढी गाह्रो हुन थाल्यो’ डा. अलीले भने ‘सीपीआर गर्नेदेखि लिएर गम्भीर अवस्थाबाट बाहिर ल्याउन एक घण्टासम्म कोशिस र्गयौं । तर बचाउन सकिएन ।’

योसँगै वीरगञ्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५९ पुगेको छ । साउन यतामा मात्रै ५३ जनाको मृत्यु भएको छ ।

मृत्यु भएका ५९ जनामध्ये पर्साका ४२ जना, बाराका १२ जना, रौतहटका ४ जना र सर्लाहीका १ जना छन । दुई जनाको भने ठेगाना खुलेको छैन ।