पब्जीको बदलामा ‘फौजी’ गेम ल्याउँदै अक्षय कुमार

   २२ भाद्र २०७७, सोमबार ११:५५  

२२ भदौ, रौतहट । भारतमा चिनियाँ गेमिङ एप पब्जीमा प्रतिबन्ध लागेसँगै भारतीय अभिनेता अक्षय कुमारसँग मिलेर एक कोर गेम्स नामक कम्पनीले ‘फौजी’ मोबाइल गेम ल्याउने भएका छन् । ‘पब्जी ‘बान्ड भए सँगै अब ‘फौजी’ गेम बन्दै छ ।

यो मोबाइल गेमलाई पब्जीको प्रतिस्पर्धीको रुपमा हेरिएको छ ।  कम्पनीले दिएको जानकारीअनुसार अक्टोबरको अन्तिमसम्ममा बजारमा यो गेम आउनेछ । कम्पनीका संस्थापक विशाल गोन्डलले समाचार एजेन्सी रोयटर्ससँग कुरा गर्दै यो गेमको पूरा नाम ‘फियरलेस एण्ड युनाइटेड गार्डस्’ रहेको बताए ।

उनले यो गेम निर्माणको लागि लामो समयदेखि काम चलिरहेको उनले उल्लेख गरे । उनले गेमको पहिलो लेभल भारतको चीनसँगको सीमा विवाद रहेको गलवान घाटीमा आधारित रहेको बताएका छन् । गत जुनमा भारत र चिनियाँ सेनाको बीचमा गलवान घाटीमा झडप भएको थियो ।

उक्त झडपमा कम्तीमा २० भारतीय सैनिकको मृत्यु भएको थियो । त्यसयता दुई मुलुकको बीचमा तनाव चल्दै आएको छ । तनाव बढेसँगै भारतले लोकप्रिय गेमिङ एप पब्जीसहित चिनियाँ कम्पनीले निर्माण गरेका ११८ अन्य मोबाइल एपमा बुधबार प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

पछिल्लो वर्षयता पब्जी निकै लोकप्रिय रहँदै आएको छ । विश्वभर पब्जी खेल्नेमध्ये करिब २५ प्रतिशत भारतीय छन् । चीनमा १७ र अमेरिकामा ६ प्रतिशत प्रयोगकर्ता पब्जी खेल्छन् ।

कम्पनीका अनुसार यो गेमको नाम ‘फौजी’ अभिनेता अक्षय कुमारले नै जुराएका हुन् । शुक्रबार अक्षय कुमारले सामाजिक सञ्जाल ट्विटरमार्फत् यो गेमको बारेमा जानकारी दिएका थिए । उनले यो गेम ल्याउँदै गर्दा आफूलाई गर्व महसुस भइरहेको बताए ।पब्जीको विकल्पमा ‘फौजी’ ल्याउँदै अक्षय कुमार