‘कोरोनाबाट मृत्यु हुनेको मिर्गौला निकालिन्छ’ भन्ने चिकित्सक पक्राउ
२२ भदौ, रौतहट । कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट मृत्यु भएकालाई परिवारबाट टाडा राखेर ‘किड्नी, आँखा र लिभर निकाल्ने गरिन्छ’ भन्दै अफवाह फैलाउने प्राकृतिक चिकित्सक सुवास सुब्बा लिम्बुलाई प्रहरीले पक्राउ गरको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले सुब्बालाई सोमबार ललितपुरको ढोलाहिटीबाट पक्राउ गरेको हो । प्राकृतिक चिकित्सक लिम्बुले एक युट्युब च्यानलमा बोल्दै ‘अस्पतालले आफन्तलाई भित्र छिर्न नदिएर संक्रमणबाट मृत्यु भएकाको शरीरको अंग निकालेर बेच्ने गरेको’ बताएका थिए ।
प्राकृतिक चिकित्सक सुवास सुब्बाको अन्तरर्वाता ९२ हजारले हेरेका छन् ।
यस्तै, ‘नेपालमा कोरोना नै छैन, नत्र सडकमा बस्नेलाई किन लाग्दैन ?’ भन्दै उनले सो युट्युब च्यानलमा भनेका छन ‘सरकारमा मगन्तेहरु बसेका छन, कोरोना मात्रै भ्रष्टाचार गर्ने बहाना बनेको छ ।’
प्राकृतिक चिकित्सक सुब्बाले कोरोनाविरुद्ध आफूले भ्याक्सिन बनाएको दावी समेत गरेका छन । उनले अफवाह फैलाउने अभिव्यक्ति दिएको हुनाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले बताए ।
मुलुकी अपराधसंहिता (७४ को दफा ७) मा झुटा अफवाह फैलाएमा वा प्रचार प्रसार गरेमा १ बर्ष कैद वा १० हजार रुपैयाँ जरिवाना अथवा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।