विप्लव समूहका नेता नाम बदलेर उपचार गराइरहेका बेला पक्राउ
२२ भदौ, रौतहट । विप्लव समुहका एक जना नेत नाम बदलेर काठमाडौँमा उपचार गराइरहेका बेला पक्राउ परेका छन् । सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन ।
महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी रुद्र सुनारको नाममा भर्ना भएका थिए । सिन्धुली प्रहरी प्रमुख एसपी रञ्जु सिग्देलका अनुसार सुनुवारसहितको समूहले १३ भदौमा तिनपाटन गाउँपालिकाको भिमसेन निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीको अपहरण गरेको थियो ।
‘अपहरणमा संलग्न ७ जना त्यसबेलै पक्राउ परिसकेका थिए’, सिग्देलले भने, ‘सुनुवार घटनापछि भागेर काठमाडौं पुगेका रहेछन ।’ भाग्ने क्रममै उनको खुट्टा भाँचिएको र उपचारका लागि छद्म नामबाट भर्ना भएको पाइएको सिग्देलले सुनाइन ।
उनका अनुसार सुनुवार केही अघि जिल्लामा स्काभेटर जलाएको घटनाका समेत आरोपित हुन । उनलाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा पेश गरेको थियो ।






