कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   २२ भाद्र २०७७, सोमबार १०:४९  

२२ भदौ, रौतहट । कोरोना भाईरस संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । सिरहाका एक जना र बिराटनगरका एक जना गरी थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ५ निवासी ६२ वर्षीय पुरुषको आइतबार राति ८ बजेतिर मृत्यु भएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि आइतबार दिउँसो ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको थियो ।

तत्कालै आकस्मिक कक्षमा राखी स्वाब संकलन गरेर उपचार शुरु गरिएको पुरुषको आइतबार राति मृत्यु भएको हो । पुरुषको मृत्यु हुनुअघि साँझ ५ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको झाले बताए । ती पुरुष मधुमेह र निमोनियाबाट ग्रसित थिए ।

यस्तै, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचाररत बिराटनगर महानगरपालिका– १० का ७६ वर्षीय वृद्धको मृत्यु भएको हो । ११ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी होम आइसोलेसनमा बसेका थिए ।

उच्च रक्तचापबाट पनि पीडित वृद्धको अवस्था गम्भिर बनेपछि शनिबार राति कोभिड–१९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि गम्भिर अवस्थामा अस्पताल ल्याइएका वृद्धलाई भेण्टिलेटरमा राखिएको थियो ।

भेण्टिलेटरमा राखेर उपचार गर्ने क्रममा सोमबार बिहान साढे ३ बजे मृत्यु भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले जानकारी दिए । दाहाल थरका वृद्धको मृत्यु भएसँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।