आज थप ९८० जनामा कोरोना पुष्टि, १ हजार ८१४ डिस्चार्ज
२१ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानकारी अनुसार बितेको २४ घण्टामा १० हजार ३ सय ८२ जनाको पीसीआर परीक्षण गर्दा ९ सय ८० जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । आज थपिएका संक्रमितसंगै देशभर कोरोनाबाट संक्रमित हुनेहरुको कुल संख्या ४६ हजार २ सय ५७ पुगेको छ ।
यस्तै, विगत २४ घण्टामा १ हजार ८ सय १४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् । यीसहित हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या २८ हजार ९ सय ४१ पुगेको छ ।
त्यस्तै, हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको मन्त्रालयक प्रवक्ता गौतमले जानकारी दिए ।
यस्तै पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या २ सय ८९ पुगेको छ ।
नेपालमा हालसम्म ७ लाख ६८ हजार ३४५ जनाको पिसिआर परीक्षण भएको छ ।