विदेशमा एक सातामा ५ नेपालीको कोरोनाबाट मृत्यु
२१ भदौ, रौतहट । विश्वव्यापी रुपमा फैलिएको कोरोना माहामारीका संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन ।
योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको एनआरएनएले जनाएको छ । स्वास्थ्य समितिका अनुसार यो साता दक्षिण कोरियामा रहेका नेपालीहरुमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ । जापान, अष्ट्रेलिया कतार लगायतका देशमा यो साता कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ ।
हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन । हालसम्म नेपाल बाहेक विदेशमा मात्र ३४ हजार ९ सय ३९ जनामा कोरोना संक्रमण देखिएको छ । ३२ हजार ९ सय ८९ जना कोरोना संक्रमणबाट मुक्त भएको समितिले जनाएको छ ।
यो कुल संक्रमित संख्याको ९४ प्रतिशत हो ।