कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु

   २१ भाद्र २०७७, आईतवार १०:४७  

२१ भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । चितवनका एक जना र गोरखाका एक जना गरी थप दुई जनाको कोरोना भाईरस (कोभिड १९)का संक्रमणबाट मृत्यु भएको हो ।

भरतपुर महानगरपालिका १५ को ७० वर्षका पुरुषको आज बिहान ८ बजे मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि चितवन मेडिकल कलेजको आइसियूमा राखेर उनको उपचार भइरहेको थियो । ती पुरुषमा श्वासप्रश्वासमा समस्या थियो । साथै मिर्गौलाको समस्याबाट पनि पीडित भएकाले डाइलायसिस पनि गरिएको थियो ।

यससँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । मृत्यु हुनेमा चितवन जिल्लाका मात्रै १२ जना छन ।

यस्तै, गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी गोरखा नगरपालिका ७ की ७५ वर्षीय वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ । परिवारका तीन सदस्यमा कोरोना देखिएपछि उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो।

‘शुक्रवार उहाँको परिवारका सदस्यमा कोरोना देखिएपछि शनिवार बिहान उहाँको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका थियौ,’ जिल्ला अस्पताल गोरखाका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘आज रिपोर्ट पोजेटिभ आयो ।’ उनलाई अचेत अवस्थामा शनिवार अस्पताल ल्याइएको थियो । सोही दिन अस्पतालका डाक्टरले मृत घोषणा गरेको ढकालले बताए ।

‘हिजो दुई बजेतिर अस्पताल ल्याइएको थियो, साढे चार बजेतिर उहाँलाई मृत घोषणा गरियो,’ उनले भने । सूचना अधिकारी ढकालका अनुसार उनी मस्तिष्कघातकी बिरामी थिइन । ‘ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको रहेछ, ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखियो, फेरि शरीरको एक पाटा नचल्ने गरी प्यारालाइसिस पनि भएको रहेछ,’ ढकालले भने ।

उनको शव आइसियूमै रहेको उनले जानकारी दिए । शव व्यवस्थापनको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए ।