आइसोलेसनमा बेड खाली, संक्रमित भने घर-घरमा
२० भदौं, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीमा रहेको जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा २६० बेड सहितको आइसोलेसन सेन्टरका अधिकांश बेड खाली रहदा कोरोना संक्रमितहरु भने समुदाय र घरमा होम आइसोलेसनमा बसेका छन ।
रौतहटका संक्रमितको उपचारमा सहजता र समुदायमा संक्रमण नियन्त्रण हुने लक्ष्यका साथ भदौ महिनाको पहिलो साता स्थानीय तहहरुको लाखौं रुपैंयाको सहयोगमा जय किसान पोलिटेक्निकल क्याम्पस भवनमा जिल्लाकै ठूलो र व्यवस्थित आइसोलेसन सेन्टर संचालन गरिएको थियो । व्यवस्थीत पूर्वाधार सहितको आइसोलेसका बेडहरु खाली भए पनि स्थानिय तह र जिल्ला अस्पतालले संक्रमितहरुलाई आइसोलेसनमा पु¥याउन चासो देखाउन छोडेका छन ।
जिल्ला विपद् व्यवस्थापन समिति तथा जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले होम आइसोलेसन हटाएर धरहरीमा संस्थागत आइसोलेसन संचालन गर्ने निर्णय गरे पछि वृन्दावन नगरपालिकाले तिन सय बेड उपलब्ध गराएको थियो भने अन्य पालिकाहरुले पनि आवश्यक सहयोग गरेका थिए । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको पहलमा संचालनमा आएको सो आइसोलसनमा शनिवार १२ जना मात्रै संक्रमित रहेका छन । रौतहटमा दुई दिन पहिले बिहिवार मात्रै ३५ जना र शुक्रवार २३ संक्रमित थपिएका छन । थपिएका संक्रमितहरुलाई स्थानिय पालिकाहरुले आइसोलेसनमा पठाउन पहल नगर्दा उनीहरु समुदायमै रहेका छन ।
संक्रमितहरुलाई आइसोलेसनमा पठाउनु पर्ने दायीत्व बोकेको पालिका र जिल्ला अस्पताल दुवै आफ्नो जिम्मेवारी बाट पन्छीदा रौतहटको समुदायमा संक्रमणको जोखिम बढेको छ । आफूले स्थानिय पालिकाका प्रमुखहरु संक्रमितलाई आइसोलेसनमा पठाउन भने पनि पालिका प्रमुखहरु नमानेको जिल्ला अस्पताल गौरका मेडिकल सुपरिडेन्टेन डा. कृष्ण साहले बताए ।
“दिन प्रतिदिन संक्रमितहरु बढी रहेकोले हामीले ठूलो सँख्यामा बेड भएको आइसोलेसन बनाएका हौं ।” प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने “७० वर्ष भन्दा माथिका र शारीरिक रुपमा अशक्त भएका बाहेक सबैलाई आइसोलेसनमै राख्नु पर्छ । संक्रमितहरु संस्थागत आइसोलेनमा नगएर होम आइसोलेसनमा कुन आधारमा बसेको हो भन्ने बारेमा सम्बन्धीत निकायलाई सोधपुछ गर्छु ।” रौतहटमा अहिले सम्म १ हजार ६ सय ६० जनामा संक्रमण पुष्टी भएको छ ।