अल्का अस्पतालकी कर्मचारीको शव लेलेको जंगलमा भेटियो

   २० भाद्र २०७७, शनिबार १३:०१  

२० भदौ, रौतहट । ललितपुरस्थित अल्का अस्पतालकी कार्यरत कर्मचारीको हत्या भएको छ । गोदावारी नगरपालिका १०, मुलडोलस्थित लेलेको जंगलमा ३९ वर्षीय गीता केसीको शव भेटिएको हो ।

हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो । प्रहरीले खोजतलास गरिरहेकै बेला शुक्रबार साँझ मुख्य सडकबाट दुई सय मिटरभित्र लेलेको जंगलमा महिलाको शव भेटिएको थियो ।

शनिबार बिहान उक्त शव केसीको भएको पुष्टि भएको महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले बताए । हाल शवलाई पोष्टमार्टमका लागि पाटन अस्पताल लैजाने तयारी भइरहेको छ । केसीको शरीरमा अन्य चोटपटक देखिएको छैन ।

यद्यपि, पोष्टमार्टमपछि विस्तृत जानकारी आउनेछ । ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार हत्याको कारणबारे अनुसन्धान भइरहेको छ । ‘