थप तीन जनाको कोरोनाका कारण मृत्यु
२० भदौ, रौतहट । कोरोना संक्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई जनाको र बीपी प्रतिष्ठानमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो । नवलपरासी प्रतापपुर गाउँपालिका २ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवल ११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।
बुटवलका पुरुष भदौ १५ गते र नवलपरासीकी महिला भदौ १७ गते अस्पतालमा भर्ना भएका थिए । उनीहरुको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको थियो । दुवैमा ज्वरो र श्वास प्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. गौतमले बताए । योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ । बुटवल उपमहानगरका मात्रै ६ जनाको ज्यान गएको छ ।
यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको विराटनगर ११ घर भएकी ४३ वर्षीया महिला छिन ।
उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । प्रादेशिक ल्याब बिराटनगरमा परीक्षण गर्दा उनमा भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसको भोलिपल्ट उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । न्यूरो अस्पताल बिराटनगरबाट रिफर भएर उनलाई प्रतिष्ठानमा ल्याइएको थियो ।
बिगत ४ वर्षदेखि उनमा उच्च रक्तचापको समस्या थियो । पछिल्लो पटक श्वासप्रश्वासमा कठिन हुनुका साथै पेट र छाती दुख्ने समस्या पनि उनमा देखिएको डा. सापकोटाले बताए ।