कोरोना बीमाको नयाँ मापदण्ड
१९ भदौ, रौतहट ।कोरोना भाइरस (कोभिड १९)का महामारी बढिरहँदा लाखौं नेपालीले यसको बीमा गरेर आर्थिक पाटोमा ढुक्क हुन चाहेका छन । तर, बीमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बीमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।
कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परिक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी पाउने छैनन ।
समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।
सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् । सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परिक्षण गराइरहेका छन् ।
बीमा समितिले सरकारकै नीतिविरुद्ध मापदण्ड बनाएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । बीमा गर्ने तर भुक्तानी नगर्ने अर्थात बीमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बीमा कम्पनीहरुको उक्साहटमा समितिले निर्णय लिएको आरोप लागेको छ ।
अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बीमा गराइसकेका छन । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।