रुपन्देहीमा थप २ जनाको कोरोना संक्रमणबाट मृत्यु

   १९ भाद्र २०७७, शुक्रबार १३:५१  

१९ भदौ, रौतहट । रुपन्देहीमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत एक महिला र भैरहवामा होम आइसोलेसनमा बसेका एक पुरुषको मृत्यु भएको हो ।

मुटु अस्पतालमा उपचाररत रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. ७ कि ६४ वर्षीया महिलाको शुक्रवार बिहान ८ ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि वृद्धालाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिउको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।

यस्तै सिद्धार्थनगर नगरपालिका वडा नं ८ का ४५ बर्षका पुरुषको होम आइसोलेसनमै मृत्यु भएको छ । चितवनको भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउन गएका बेला ४ दिनअघि कोरोना संक्रमण पुष्टि भएको वडाध्यक्ष राजनजंग राणाले जानकारी दिए ।

स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ शाहका अनुसार उनी मिर्गौलाका बिरामी पनि थिए र शुक्रबार डायलासिस गराउन अस्पताल ल्याउने तयारी गरिरहँदा उनको घरमै मृत्यु भएको हो ।

योसंगै रुपन्देहीमा शुक्रबारसम्ममा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ ।