पर्सा, बारा र गण्डकी प्रदेशमा गरी थप ८५ जनामा कोरोना संक्रमण पुष्टि

   १९ भाद्र २०७७, शुक्रबार ११:१९  

१९ भदौ, रौतहट । पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्सा, बारा र गण्डकी प्रदेशमा गरी थप ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साका २६ जना र बाराका १९ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु सुरक्षाकर्मी र बैंकका कर्मचारीसमेत छन ।

बिहीबार प्रयोगशालामा ५ सय ८४ जनाको पीसीआर परीक्षण गरिएकोमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । १८ देखि ४५ वर्ष उमेर समूहका संक्रमितहरुमध्ये १० जना महिला छन । संक्रमितमध्ये २९ जनाको सिटि भ्यालु २४ र २४ भन्दा कम छ । भने १६ जनाको सिटि भ्यालु २५ भन्दा बढी छ ।

चौरसियाका अनुसार सिटि भ्यालु २४ आउनुलाई कडा संक्रमण मानिन्छ भने २५ भन्दा बढी सिटि भ्यालु भएको अवस्थामा कमजोर संक्रमण हुन्छ । वीरगञ्जमा मात्रै १९ जनामा संक्रमण पुष्टि भएको छ । नबिल बैंकमा कार्यरत ५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

यसैगरी कामना विकास बैंकमा कार्यरत २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै, गण्डकी प्रदेशमा ४० जना कोरोना संक्रमित थपिएका छन । पूर्वी नवलपरासी (नवलपुर) मा १७, कास्कीमा १६, लम्जुङमा ३, तनहुँमा २ तथा स्याङ्जा र बाग्लुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ५२ पुगेको गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

डा. शर्माका अनुसार पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ मा ४ जना, वडा नं. ५ मा ५ जना, वडा नं. ४ मा २ जना, वडा नं. २ मा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीकै देवचुली वडा नं. ७ मा १ जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । कास्कीको पोखरा महानगरपालिकामा १६ जना संक्रमित फेला परेका छन ।

पोखरा महानगरपालिकाको वडा नं. १५ मा कार्यरत ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी वडा नं. ७ का १ जना, वडा नं. १२ का १ जना, वडा नं. १० का ३ जना, वडा नं. २७ का २ जना तथा वडा नं. १४, ५ र ३० का १–१ जनामा संक्रमण पुष्टि भएको छ । लम्जुङ जिल्लाको मध्यनेपाल–१ मा १ जना र राईनाश ९ मा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी स्याङ्जाको कालीगण्डकीका १ जना, बाग्लुङको ताराखोला ३ का एक जना र तनहुँको म्याग्देका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।