बुटवलको कोरोना अस्पतालमा ७८ वर्षीय वृद्धको मृत्यु भएसंगै चितवनमा थप ७४ जनामा कोरोना पुष्टि

   १९ भाद्र २०७७, शुक्रबार १०:५६  

१९ भदौ, रौतहट । कोरोना संक्रमणका कारण बुटवलको कोरोना अस्पतालमा एक वृद्धको मृत्यु भएसंगै चितवनमा एकैदिन थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेकामा आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको डा. गौतमले जानकारी दिए । लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० जना पुगेको छ । अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भएको छ ।

यस्तै, भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका ५६ जना रहेका छन । यस्तै, राप्ती नगरपालिकाका ९, खैरहनी नगरपालिकाका ४, रत्ननगर नगरपालिकाका ३ र कालिका नगरपालिकाका २ जनामा छन । संक्रमितहरु एक वर्षदेखि ७४ वर्ष उमेरसम्मका छन ।

जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञाको आज अन्तिम दिन यति धेरै संख्यामा चितवनमा संक्रमित फेला परेका हुन । जिल्लामा संक्रमितको संख्या झण्डै ९ सय पुगेको छ ।