नेपालमा १ हजार २ सय २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ

   १८ भाद्र २०७७, बिहीबार १७:३०  

१८ भदौ, रौतहट । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाईरस (कोभिड १९)का संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

यसैगरी बिहीबार काठमाडौँ उपत्यकामा थप ४४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा १० हजार ६ सय ७१ र होम आइसोलेशनमा ७ हजार ७४२ जना रहेका छन । आज १३ हजार ४ सय १३ जनाको पीसीआर परिक्षण गर्दा १ हजार २ सय २८ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै बितेको २४ घण्टामा ९ सय १७ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यस्तै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २५७ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।