खडकाको जिम्मेवारी खोसियो, रौतहटमा नयाँ एसपी आउदै

   १८ भाद्र २०७७, बिहीबार १७:२२  

१८ भदौं, रौतहट । ईलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ । पछिल्लो समय रौतहटको शान्ती सुरक्षाको अवश्था निकै कमजोर हुँदा लगातार हत्या हिंसाका घटना बढेको थियो ।

जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविन कुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।

निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर देखिएकाले नेतृत्व परिवर्तन गरिएको हो । रौतहटको शान्ती सुरक्षाको स्तर खस्कीनुको साथै तस्करी लगायतका अवैध कार्यहरु बढेको थियो ।

प्रहरी प्रधान कार्यालय, नक्सालले प्रकरण सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानविन थालेएको थियो । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।

गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको छ । १९ वर्षीय विजयको शरीर भरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् ।