राहत सामग्री बोकेर गृहमन्त्री बागलुङतर्फ प्रस्थान
१८ भदौ, रौतहट । नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत सामग्री बोकेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बागलुङको ढोरपाटन नगरपालिका ९ सुकुर्दुङतर्फ प्रस्थान गरेका छन ।
पीडित परिवारका लागि राहत लिएर गृहमन्त्रीको टोलीमा बागलुङका सांसद देवेन्द्र पौडेल,राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल रहेको गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए । गएराति बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङ बाढी आउँदा ११ जनाको शव फेला परेको छ भने २४ जना वेपत्ता छन । जसमा ८ पुरुष र ३ महिला रहेका छन ।
बाढीमा ३ दर्जनभन्दा बढी घर पुरिएको छ । अरिवरल वर्षासँगै गएराति १२ बजेको समयमा बाढी आएको हो । ढोरपाटन नगरपालिकाको दुवालदेखि घट्टेचौर, सुप्राङ्ग, भुसान्दे, दुनेपडेरा, सुकेलदुम, लाकुरेबोट, मङ्गलाटोलसहित खोला किनारका सबै बस्ती बगरमा परिणत भएको छ ।
वेपत्ताहरुको खोजीकार्य जारी छ ।